सुदूरपश्चिममा ६४ हजार सवारी साधन कारबाहीमा
११ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा सुदूरपश्चिम प्रदेशमा ६४ हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने ६४ हजार ३०५ सवारी साधन कारबाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।
ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांकअनुसार गत साउनदेखि चैतसम्म सबैभन्दा बढी २४ हजार ४६० मोटरसाइकल, १४ हजार ७४० जिप र कार, ११ हजार ३०१ ट्रक, नौ हजार ५९० ट्याक्टर, दुई हजार ८० बस र दुई हजार १३४ वटा अन्य सवारी साधन कारबाहीमा परेका छन् ।
कारबाहीमा परेका सवारी साधनबाट तीन करोड ७० लाख ८४ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका निमित्त प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । ‘यी सवारी साधनबाट यस वर्ष करिब पौने चार करोड राजस्व संकलन भएको छ,’ उनले भने, ‘ट्राफिक नियम पालना नगर्ने, मापदण्डविपरीत चलाउने कारबाहीमा परेका हुन् । हामीले सवारी दुर्घटना नहोस् भनी ट्राफिक नियम पालना गराउन कडाइ गर्ने गरेका छौं ।’
अघिल्लो आर्थिक वर्ष ५६ हजार १५३ सवारी साधन कारबाहीमा पर्दा तीन करोड ३१ लाख ९९ हजार ५०० राजस्व संकलन भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यस चालू आर्थिक वर्षको ९ महिनामा नै आठ हजार १५२ बढी सवारी साधन कारवाहीमा परेका छन् । ती सवारी कारबाहीबाट ३८ लाख ८५ हजार रुपैयाँ बढी संकलन भएको देखिन्छ ।
सवारी साधनको संख्यामा वृद्धि र ट्राफिक प्रहरीले जाँच कार्यलाई तीव्रता दिएका कारण सवारी साधन बढी कारबाहीमा परेको प्रहरी निरीक्षक सिंहको भनाइ छ । ‘सवारी दुर्घटना समस्याका रुपमा बढ्दै गएकाले हामी निरन्तर लागेका छौं,’ उनले भने, ‘सवारी दुर्घटना कम गर्न प्रहरी मात्र होइन नागरिक, सवारी चालक सबै सचेत हुन आवश्यक छ ।’
from Online Khabar https://ift.tt/32PDTD7
via IFTTT

No comments