भर्खरैको न्युज्

नेपाली युवकविरुद्ध कतारको साइबर क्राइममा उजुरी

१२ साउन, कतार । युवतीहरुलाई ब्ल्याकमेल गरेको आरोपमा एक नेपाली युवकविरुद्ध कतारको साइबर क्राइममा उजुरी परेको छ । युवतीहरुलाई ब्ल्याकमेल गर्ने, अपशब्द प्रयोग गरी पैसा असुल्ने र शारीरिक सम्बन्धका लागि बाध्य पार्न खोजेको भन्दै एक युवकबिरुद्ध साइबर क्राइममा उजुरी दिइएको हो ।

मकवानपुर बकैया गाउँपालिकाकी उर्मिला थिङ्ग (नाम परिवर्तन) ले उदयपुर गाइघाटका चित्रबहादुर कामी (पूर्वेली कान्छो फेसबुक आइडी प्रयोग गर्दै आएको) विरुद्ध ब्ल्याकमेलको आरोपमा कतारको साइबर क्राइममा उजुरी दिएकी हुन् ।

थिङ्गलाई कामीले पटक–पटक फोन मार्फत अपशब्द प्रयोग गर्ने, धम्की दिने र सँगै बस्नका लागि बाध्य पार्ने किसिमको भ्वाइस म्यासेज पठाउने गरेको भन्दै पीडित थिङले अन्तर्राष्ट्रिय समन्वय परिषद् संयोजक तथा मकवानपुर मिलन केन्द्र दोहा कतारका संरक्षक सरोज पुडासैनी समक्ष न्यायको अपिल गर्दै निवेदन दिएकी थिइन् । सो निवेदन इमेलमार्फत् साइबर क्राइमसम्म पुगेको हो । कतारको कानुनभन्दा माथि कोही पनि नरहेको र पीडित मकवानपुरे चेलीले न्याय पाउने कुरामा बिश्वस्त रहेको पुडासैनीले बताए ।

कामीले सामाजिक सन्जाल फेसबुक र टिकटकमा थिङ्गको तस्विर राखेर आपत्तिजनक स्ट्याटस लेखेर चरित्रहत्या गर्न खोजेको पीडितले गुनासो गरेकी छिन् । कतारमा रहेको एक क्लिनिङ्ग कम्पनीमा थिङ्ग करिव दुई वर्ष अघि रोजगारीका लागि आएकी थिइन् । कामीसँग सामान्य चिनजान पश्चात साथी भएकी थिङ्ग तीन बच्चाकी आमा हुन् ।

कामीले उक्त क्लिनिङ्ग कम्पनीमा कार्यरत अन्य नेपाली महिलाहरुसँग पनि ब्याज दिन्छु भन्दै पैसा सापटी लिएर फिर्ता नगरेको र पैसा माग्दा थाहा नभएको जवाफ दिएको पीडितले गुनासो गरेका छन् ।

पीडित थिङ्गले आफूलाई परेको समस्याबारे नेपाली दूतावास दोहा कतार, राष्ट्रिय मानव अधिकार समिति कतारका नेपाली प्रतिनिधि प्रोफेसर रमजान बाबु अलि मिया, महिला समाज दोहा कतार र एनआरएन दोहा कतारका प्रतिनिधिहरुलाई जानकारी गराएकी छिन् ।



from Online Khabar https://ift.tt/2CHTY4J
via IFTTT

No comments